भारतको केरलामा विमान दुर्घटना कम्तिमा २० जनाको मृत्यु |
काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित २० जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।
दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो । हवाईजहाजमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए ।
त्यस्तै १०० भन्दा बढी यात्रु घाइते भएका छन् । भारतीय अनलाइन स्क्रोलका अनुसार ११२ जना घाइतेलाई अस्पताल लगिएको छ । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।

भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिए ।
दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ । शुक्रबार बिहान केरलाको मुन्नारमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।


