श्री राम सुगर मिल बन्द गर्ने घोषणा |
रौतहट । रौतहट जिल्लामा रहेको श्रीराम सुगर मिल बन्द भएको छ । वर्षेनी घाटा बढ्दै गएको र कोभिड १९ कारण झनै घाटा बढेकाले कम्पनी बन्द गरिएको कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सुचीकृत उक्त कम्पनीले नेप्सेमार्फत् बन्द भएको सूचना प्रकाशित गरेको हो । वर्षेनी करोडौं घाटा हुँदै आएको यो वर्षसम्म कूल २ अर्ब १७ करोड नोक्सानी पुगेको कम्पनीले जानकारी दिएको छ । गोल्छा अर्गनाइजेशनको लगानी रेहको मिल साउन ११ गतेदेखि स्थायी रुपमा बन्द गर्ने निर्णय भएको हो ।
गएको चार महिनादेखि कर्मचारीको तलब भत्तासमेत दिन नसकिएको र चल अचल सम्पत्ति बिक्री गरेर भएपनि भुक्तानी गर्ने सञ्चालकहरुले प्रतिबद्धतता गरेका छन् ।
कम्पनी बन्द गरी बाँकी रहेको जिम्मेवारी पुरा गर्नका लागि चल अचल सम्पत्ति बिक्री गर्नका लागि सरकारसँग अनुमति माग गरिएको र अनुमति पाउनेवित्तिकै कर्मचारीको तलब तथा सुविधा र किसानको बक्यौता भुक्तानी गरिने बताइएको छ ।
कोभिड शुरु भएपछि नेपालमा पहिलोपटक कंगाल भएको घोषणा गर्दै कम्पनी बन्द गर्ने निर्णय भएको हो ।


