अमेरिकामा लगातार चौथो दिन पनि कोरोनाबाट हजार बढी मानिसको मृत्यु |
अमेरिकामा कोरोनाका कारण लगातार चौथो दिन हजार बढी मानिसले ज्यान गुमाएका छन् । रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार पनि हजार बढी मानिसको मृत्यु भएको छ ।
यो संख्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विद्यालय खोल्न जोड दिइरहेका बखत आएको हो । यसअघि जुन महिनाको सुरूवातमा अमेरिकामा लगातार चार दिनसम्म हजार बढीको संख्यामा कोरोनाबाट मानिसहरूको मृत्यु भएको थियो । त्यसअघि अप्रिलमा भने मृतक संख्या कम थियो ।
कोरोनाबाट विश्वमा सर्वाधिक प्रभावित अमेरिकामा जुनबाट पुन संक्रमित संख्यामा बढोत्तरी भइरहेको छ । यस्तै मृतक संख्या घटेको ६ सातापछि सो संख्यामा पुनː वृद्धि देखिन थालेको छ ।
जुलाईमा अमेरिकाका १९ राज्यले संक्रमित संख्याको आफ्नो प्रतिदिन वृद्धिको रेकर्ड तोडिसकेका छन् ।
टेक्सस राज्यमा बुधबार कीर्तिमानी संख्यामा २ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको थियो भने फ्लोरिडामा बिहीबार १ सय ७३ जनाको मृत्यु भएको रोयटर्सको समाचारमा उल्लेख छ । यस्तै बुधबार क्यालिफोर्नियामा बुधबार १ सय ५९ जनाको मृत्यु भएको उसले जनाएको छ ।
शुक्रबार अमेरिकामा कोरोनाका कारण १ हजार १९ जनाको मृत्यु भएको छ भने त्यसको अघिल्लो दिन बिहीबार १ हजार १ सय ४० जनाको मृत्यु भएको थियो ।
यस्तै बुधबार र मंगलबार त्यो संख्या क्रमशː १ हजार १ सय ३५ तथा १ हजार १ सय ४१ थियो। योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ३ सय ५२ पुगेको छ ।
यस्तै शुक्रबार त्यहाँ ६८ हजार ८ सय नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमित संख्या ४० लाख नाघेको छ।रोयटर्सले अमेरिकाका कोरोनाका कारण हुने मृत्यु लगातार दोश्रो साता पनि बढेपनि सो संख्या अप्रिल महिना भएको मृत्यु भन्दा कम भएको जनाएको छ।
अप्रिल महिनामा प्रतिदिन औषत २ हजारका दरले कोरोनाका मानिसहरूको मृत्यु भएको थियो ।



