बैंकिङ्ग प्रणालीमा तरलता बढेर १ खर्ब ९१ अर्ब पुग्यो,२० अर्ब खिच्दै राष्ट्र बैंक |
काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै गएपछि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकले रिभर्स रिपो जारी गरी बजारबाट साउन ८ गते बिहीबार २० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
बैंकिङ्ग प्रणालीमा हाल १ खर्ब ९१ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएपछि तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ । राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ ।
लकडाउनको कारणले बैंकहरुको कर्जा लगानी बढ्न नसकेपनि निक्षेप संकलन बढ्दै जाँदा तरलता ह्वातै बढेको हो । तरलता उच्च भएपछि पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाएका छन् ।

