कटारी– १४ का मजदुरलाई तरुण दलको राहत |
उदयपुर । नेपाली काङ्ग्रेसको भ्रातृ संगठन तरुण दल उदयपुरका जिल्ला कमिटी सदस्य ठाकुर थापामगरले आफ्नो तथा संगठनको तर्फबाट ३९ बोरा चामल राहतस्वरुप प्रदान गरेका छन् ।
सो राहत उनले कटारी नगरपालिका– १४ का वडा अध्यक्ष तेजबहादुर आलेमगरलाई घुर्मी बजारमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
सदस्य थापामगरले कोरोना भाइरस र यसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित भई कामविहीन बन्न पुगेका कटारी नगरपालिका– १४ का मजदुरहरूलाई केही हदसम्म भए पनि राहत पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको बताए ।
दैनिक मजदुरी गरी जीविकोपार्जन गरिरहेका यहाँका श्रमिकहरू लकडाउनका कारण कामविहीन बन्न पुगेको वडा अध्यक्ष आलेमगरले बताए । उनले सो राहतले केही हदसम्म भए पनि राहत पुग्ने बताउँदै पीडितको पहिचान गरी चाँडै वितरण गरिने जानकारी दिए ।


