धमाधम आउँदैछन् आईपीओ, प्राथमिक बजारमा लगानी गर्ने अवसर |
काठमाडौं । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिन्छ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ ।
न्युनतम् मूल्यमा आवेदन दिइने भएकाले प्राथमिक बजारमा जोखिम कम हुन्छ । यद्यपि, आवेदन दिएर परेको सेयर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार हुन्छ ।
लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) जारीहुने क्रम बढेको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै २ वटा कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् भने एउटा कम्पनीको यस अवधिमा आईपीओ बाँडफाँट भएको छ ।
मुलुकको एकमात्रै पुनर्बिमा कम्पनी नेपाल पुनर्बिमा कम्पनीले लकडाउनभन्दा अगाडि सर्वसाधारणहरुका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक रहेको आरबीबी मर्चेन्टले लकडाउनकै बीच आईपीओ बाँडफाँट गरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर अहिले यस कम्पनीको सेयर कारोबार भइरहेको छ ।
सोमबारको मूल्य हेर्न हो भने पुनर्बिमा कम्पनीको मूल्य ४.४ गुणाले वृद्धि भएको छ । उता एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ठूलो परिमाणमा आईपीओ जारी गर्यो । लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निस्कासन गरेको थियो ।
लघुवित्तको आईपीओमा आवेदन गर्ने ३ लाख ९७ हजार ४४१ जना योग्य आवेदकले नै न्यूनतम १० कित्ता सेयर प्राप्त गरेका छन् । यस्तै २० वा २० कित्ताभन्दा बढी सेयरको लागि आवेदन दिने ३ लाख ४१ हजार ५३६ आवेदकमध्ये ४६ हजार ५ सय ७९ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।
यतिबेला साधना लघुवित्त वित्तीय संस्थाको पनि आईपीओ जारी भइरहेको छ । यस कम्पनीले आइतबारदेखि ७ लाख ७ हजार ८०० कित्ता सेयर निष्कासन गरेको छ । जसमा ०.५ प्रतिशत सेयर १० हजार ८९० कित्ता सेयर कर्मचारीको लागि आरक्षण गरिएको छ भने सामूहिक लगानी कोषको लागि ३५ हजार ३९० कित्ता आरक्षण गरिएको छ । यो आधारमा सर्वसाधारणले ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा मात्र सर्वसाधारण आवेदन गर्न पाउँछन् । सबैले १० कित्ता सेयर पाउने भएको हुँदा यो आईपीओमा ६६ हजार १५२ जना आवेदकले मात्र गोलाप्रथाबाट सेयर पाउँछन् ।
अजोड इन्स्योरेन्सको आईपीओ खुल्दै
एनआईसी एसिया लघुवित्तको पछि साधना लघुवित्तको आईपीओ खुल्यो । यसलगत्तै फेरि अर्को बीमा कम्पनीले अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्दैछ ।
कम्पनीले गत बुधवार आह्वान पत्र जारी गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्ने जानकारी दिएको छ । सर्वसाधारणका लागि छुट्याइएको कुल ३० लाख कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गर्न लागिएको हो ।
छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म बिक्रीमा रहने यस आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
१७ कम्पनीको आईपीओ आँउदै
यसपछि पनि आईपीओ जारी गर्नका लागि कम्पनीहरु पाइपलाइनमै छन् । १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । केही कम्पनीहरुले धेरै पहिले नै आवेदन दिए पनि आवश्यक कागजातहरु पूरा गर्न नसक्दा अनुमति पाएका छैनन् ।
केही कम्पनीले भने चाँडै आईपीओ जारी गर्ने अनुमति पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ७ कात्तिक २०७६ मै निवेदन दिएको भए पनि केही कागजातहरु पूरा नभएकाले बोर्डले अनुमति दिएको छैन ।
विन्धवासिनी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण सेयर जारी गर्न गत माघमा बोर्डसँग अनुमति माग गरेको थियो । यो पनि प्रक्रियामा नै रहेको बोर्डले जनाएको छ ।
यसैगरी पर्यटकीय गन्तव्यको रुपमा विकास भएको चन्द्रागिरी हिल्स पनि १८ लाख ४० हजार ९ सय १० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमतिको पर्खाइमा बसेको छ । चन्द्रागिरीले गत २५ जेठमा आईपीओ जारी गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
अन्य ३ वटा बिमा कम्पनीहरुले पनि बोर्डसँग आईपीओ जारी गर्न अनुमति माग गर्दै निवेदन दिइसकेका छन् । रिलायन्स लाइफ कम्पनीले ६३ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति माग गरेको छ । यस कम्पनीले गत ९ गतेमात्रै बोर्डमा निवेदन दिएको थियो ।
सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरेर बसेको छ । यस कम्पनीले गत १४ गते निवेदन दिएको थियो ।
यसैगरी जनरल इन्स्योरेन्स कम्पनीले पनि ३० लाख कित्ता साधारण सेयर जारी गर्न अनुमतिको पर्खाइमा छ । यस कम्पनीले गत ५ गते बोर्डमा निवेदन दिएको थियो । यसैगरी अन्य कम्पनीहरु आईपीओ जारी गर्नका लागि पाएपलाइनमा रहेका छन् ।
शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता, इमर्जिङ नेपालले ५ लाख कित्ता, सीईडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २ सय ३० कित्ता, तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता, मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ जारीका लागि विभिन्न समयमा बोर्डमा अनुमति माग्दै निवेदन दिइसकेका छन् ।


