१० अर्बको हिसाबको चिन्ता नगरौं, कोभिड–१९ को चिन्ता गरौं ː प्रधानमन्त्री |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण रोकथाममा १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न सल्लाह दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले अहिले कोभिड–१९ को विषयमा चिन्ता गर्न सांसदहरूलाई आग्रह गरे । मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १० अर्ब खर्च भएको विषयमा हिसाब मागेको थियो ।
प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताए । ’दश अर्ब खर्च भए कहाँ भयो भन्ने प्रश्न आए । त्यसको प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ । प्रदेशले स्थानीय तहमा पठाउँछ । अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं । अहिले काममा केन्द्रीत भएका छौं,’ प्रधानमन्त्रीले भने, ’रकम पठाइएको छ ।’
उनले अनियमितता भएको भेटिए सरकारले कारबाही गर्ने र कानुनको कठघरामा ल्याउने बताए । उनले अहिले स्थानीय तहलाई भ्रष्टाचार गर्योन भनेर अविश्वास गर्ने अवस्था नरहेको बताए ।
’अहिले अविश्वास गरिहाल्ने अवस्था छैन । प्रदेश र स्थनीय तह भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए । अलिकति रकम पाउन साथ भ्रष्टाचार गरे भनेर अविश्वास गर्ने अवस्था छैन’, ओलीले भने, ’स्थानीय तहहरू जनतालाई सुविधा राहत पुर्यावउन काम गरिरहेका छन् । यत्रो ठूलो आपत आइलाग्दा बजेटको सीमा छ । खर्चको सीमा छ । जसरी काम गरिरहनुभएको छ म प्रशंसा गर्न चाहान्छु । हामीले भावनामा चोट पुग्ने गरी शब्दावली प्रयोग गर्न हुँदैन ।’
उनले स्थानीय तहहरूको काम गराइबाट कसरी धान्नुभएको होला भन्ने जिज्ञासा आफूलाई भएको बताए । ’एउटै नाकामा पनि ५∕७ हजार थपिएका छन् । घर पठाए समुदायमा फैलने डर होला । मान्छेका असन्तुष्टि र आक्रोशबीच कसरी काम गरिरहेका होलान् । फिल्डमा रोगसँग, खतरासँग लडेर काम गरिराख्नुभएको छ ।’
उनले सरकारले आन्तरिक लेखा परीक्षण गर्ने, महालेखाले रिपोर्ट दिने भएकाले अहिले हिसाबको चिन्ता गर्नु नपर्ने बताए । ’हरेक हिसाब किताब रूजु बेरूजु आउँछ । आन्तरिक लेखा परीक्षणको हिसाब पनि आउँछ । हिसाबको चिन्ता नगरौं । कोभिड–१९ को चिन्ता गरौं’, ओलीले भने ।
उनले जे मा पनि अहिले अनियमितता देख्ने काम भएको बताए । यद्यपी उनले आफूले भ्रष्टाचार भएकै छैन भनेर दाबी नगर्ने बताए ।
’अहिले केही पनि भ्रष्टाचार भएको छैन पनि म भन्दिनँ’, ओलीले भने, ’यस्तो संकटको बेला दुनियाँ तनावमा भएका बेला कसैले भ्रष्टाचार गर्छ भने कुनै पनि हालतमा सह्य हुँदैन ।’


