कोरोनाको कहरभन्दा लकडाउनले मानसिक तनाव थप्दै | लकडाउन शुरु भए यता ११०५ जनाले गरे आत्महत्या
काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन् । नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन शुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ ।
यो अवधिमा कोरोनाबाट जम्मा ६ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सोमबारसम्म कोभिड– १९ बाट देशभरि १४ जनाको ज्यान गएको छ ।
लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । ११ चैतदेखि १० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेकोमा त्यसपछिको एक हप्तामा एक सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको देखिन्छ ।
हालसालै अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् ।
आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए ।
उपत्यकामा दैनिक एक जनाद्वारा आत्महत्या
वागमती प्रदेशमा लकडाउन सुरु भएयताको ६९ दिनमा दुई सय ३१ जनाले आत्महत्या गरेका छन् । यीमध्ये ६९ जना काठमाडौं उपत्यकाका छन् । यस हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरमा औसतमा दैनिक एकजनाले आत्महत्या गरेको देखिन्छ ।
प्रदेश–५ मा दुई सय ४२ जनाले आत्महत्या गरेका छन् । प्रदेशगत हिसाबले यो सबभन्दा धेरै हो । यो प्रदेशमा सबभन्दा बढी ३८ हजार पाँच सय ८७ जना क्वारेन्टिनमा छन् ।
संक्रमणको हिसाबले प्रदेश–५ दोस्रो बढी कोरोना प्रभावित प्रदेश हो । सोमबार साँझसम्म यो प्रदेशमा एक हजार एक सय ७६ संक्रमित छन् । कोरोनाबाट प्रदेश–५ मा चार जनाको ज्यान गएको छ ।
११ चैत यताको ६९ दिनमा प्रदेश–१ मा एक सय ८६, प्रदेश– २ मा एक सय ५२, गण्डकीमा एक सय २१, कर्णालीमा ५८ र सुदुरपश्चिम प्रदेशमा एक सय १५ जनाले आत्महत्या गरेको डिजाइजी शाही बताउँछन् ।


