कोरोनाले आमा गुमाएका शिशु अस्पतालबाट डिस्चार्ज |
काठमाडौं । कोरोना भाइरसको संक्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले सेतोपाटीलाई जानकारी दिए ।
उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो । तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो । अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको भन्दै डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो ।
शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न अस्पतालले सुझाएको छ । साथै क्वारेन्टिनबाट घर जानुअघि पनि आरडिटी परीक्षण गर्न र त्यसमा पोजेटिभ देखिए फेरि पिसिआर गर्ने अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
त्यसपछि नवजात शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो । परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ । उनीहरूलाई पनि डिस्चार्ज गरिएको छ ।
गत वैशाख २४ गते महिलाले काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।



