हेर्नुहोस् यस्तो छ सरकारले पारित गरेको नेपालको नयाँ नक्सा | नयाँ नक्सा जारी भएसँगै अब संविधान संशोधन हुने, सरकारको निशानछाप र विद्यालयका पाठ्पुस्तक पनि फेरिने
काठमाडौं । मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
उनका अनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, उनले भने ।

त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्राध्यापकले तयार गरेको नेपालको पूर्ण नक्सा ।
संविधान संशोधन हुने
सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ ।

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ । सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने भएको छ । र, यसका लागि संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गरी निशान छाप फेर्नुपर्ने हुन्छ ।
त्यसका साथै अब विभिन्न सरकारी कार्यालय र दूताबासहरुले प्रयोग गर्ने नेपाल सरकारको लोगो परिवर्तन गरी नयाँ नक्शाका आधारमा बनाउनुपर्ने भएकाले सबै सरकारी कागजातहरु सच्याउनुपर्ने भएको छ ।
त्यस्तै विद्यालयका पाठ्यक्रमहरुमा पनि नयाँ नक्शा अनुसार परिमार्जन गर्नुपर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं मन्त्री डा. युवराज खतिवडाले संविधानको अनुसूची लगायत सरकारी लोगो प्रयोग गर्ने सबै ठाउँमा सच्याएर नयाँ नक्शा अनुसार बनाइने प्रतिक्रिया दिए ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको नक्शा सच्याउने निर्णय गरेको हो । बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक काम भएको बताएका थिए ।
यसैवीच सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुबारे जवाफ दिने क्रममा मंगलबार प्रधानमन्त्री ओलीले नक्सा परिमार्जनबारे संसदलाई औपचारिक जानकारी दिने कार्यक्रम रहेको स्रोतले बतायो ।
Visited 6 times, 1 visit(s) today


