वडादेखि केन्द्रसम्मका अस्पतालमा सेवा वृद्धि गर्ने सरकारको लक्ष्य |
काठमाडौं । सरकारले स्थानीय तह देखि राष्ट्रिय स्तरका अस्पतालको संरचना, सेवा र गुणस्तर बढाउने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७∕७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा राम्रो बनाइने बताइएको हो ।
अघिल्लो वर्ष स्थानीय तहका २ हजार ६ सय २६ स्वास्थ्य सेवा दिने पूर्वाधार बनाइएको उल्लेख गर्दै राष्ट्रपतिले आगामी वर्ष स्थानीय तहमा दिइने सेवाको गुणस्तर बढाइने बताएकी छन् ।
प्रत्येक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारले नीति लिएको छ ।
नीति तथा कार्यक्रममा अञ्चल अस्पताललाई २५ देखि ५० शैय्याको बनाउने भनिएको छ। सातै प्रदेशमा सरूवा रोग अस्पताल बनाइने भएको छ। केन्द्रीय अस्पतालहरूमा ३ सय देखि ५ सय शैय्या बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।



