भैरहवा, नेपालगन्ज र धनगढीमा पठाइयो ८ हजार परीक्षण किट, रोकिएका परीक्षण पुनː शुरू हुँदै |
काठमाडौं । किट अभावमा कोरोनाको परीक्षण रोकिएका प्रयोगशालामा परीक्षण पुनːशुरू हुने भएको छ ।
स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये आज ८ हजार वटा किट प्रयोगशालामा पठाइएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले हिजै नेपाली सेनाको स्काइ ट्रकबाट भैरहवा, नेपालगन्ज र धनगढीका लागि किट पठाइएको बताए ।
’हामीले परीक्षण चाप भएका ठाउँमा एक हजार र बाँकीमा पाँच सयको दरले किट पठाएका छौं। अब परीक्षण रोकिँदैन,’ उनले भने ।
यसअघि आरएनए एक्स्ट्रयाक्सन किट अभावमा पाँच वटा प्रयोगशालामा परीक्षण रोकिएको थियो । जसमा वीर, चितवन, भैरहवा, सुर्खेत र धनगढीका प्रयोगशाला थिए ।
किट आउने भएसँगै गत सातादेखि परीक्षण रोकिएको भैरहवामा रहेको प्रयोगशालामा पुनः परीक्षण हुने भएको छ ।
पछिल्लो समय किट अभावकै कारण परीक्षणको गति सुस्त भएको छ । स्वास्थ्य मन्त्रालयले समेत किट अभावकै कारण परीक्षण थोरै भएको र किट आउनसाथ परीक्षण बढ्ने जानकारी दिएको छ ।


