कोरोना संक्रमणको हटस्पट बन्यो उदयपुरको भुल्के, एकै दिन थपिए ११ संंक्रमित |
काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रमा संक्रमित भेटिएका हुन् ।
जनस्वास्थ्य विज्ञहरुले यसलाई नेपालमा कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश मानेका छन् ।
भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भयो ।
लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो । काठमाडौंबाट गएको नेपाली सेनाको टोलीले संकलन गरेको थ्रोट स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै अन्य ६९ जनाको नमुना कोशी अस्पताल, विराटनगर पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भयो ।
‘यदि उनीहरु भारतमा संक्रमित भएर लकडाउनको बीचमा आएको मान्ने हो भने पनि उनीहरुबाट अरुलाई सरेको छ । एक वा दुई जनामा होइन, १०∕११ जना संक्रमित भइसकेका छन् । यो कोरोनाको कम्युनिटी ट्रान्समिसन (समुदायस्तरको संक्रमण) हो ।’
थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उनीहरु मध्ये ५ जना निको भइसके ।
कुल संक्रमितमध्ये २४ जना उदयपुरको भुल्केमा भेटिएका हुन् । उनीहरु मध्ये ११ जना भारतीय, दुई जना विराटनगरका जमाती हुन् भने मंगलबार संक्रमण देखिएका ११ जना सबै भुल्केकै स्थानीय हुन् ।
यसले कोरोना संक्रमण तेस्रो चरण (समुदाय स्तरमा) पुगेको पुष्टि भएको छ भने हटस्पट भुल्के बनेको छ ।
सबै संक्रमितमा लक्षण छैन
भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण भने देखिएको छैन । नगरपालिका स्वास्थ्य सेवा शाखाका अवधनारायण चौधरी भन्छन्, ‘कुनै लक्षण देखिएको छैन तर नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।’
संक्रमितहरुको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । १३ जना त्यहीँ उपचाररत थिए भने मंगलबार संक्रमित भएकाहरुलाई पनि विराटनगर नै लगिएको छ ।
सबै नाका सिल, परीक्षण तीब्र बनाइने
धेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिने भएको छ । प्रदेश सुरक्षा समन्वय समितिको बैठकले लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएको छ । साथै संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ ।
शहरउन्मुख भुल्के क्षेत्रमा बाक्लो बसोबास छ । नेपाली सेनाको १८ नम्बर बाहिनी नजिकै रहेको त्यो क्षेत्रमा नुरी मस्जिद वरीपरी ५०∕५२ परिवार मुस्लिम परिवार बस्छन् भने नजिकै चौधरी र ब्राम्हण क्षेत्री परिवारको पनि बसोबास छ ।
स्थानीय जनप्रतिनिधिहरुका अनुसार भुल्केका मुस्लिम समुदायका पुरुषहरु खसीबोकाको व्यापार गर्छन् भने महिलाहरु सागसब्जी बेच्न बजार जाने गर्छन् । अहिले संक्रमण देखिएकाहरु जमातीहरुसँग क्लोज कन्ट्याकमा गएकाहरु हुन् ।
ठूलो संख्यामा संक्रमित भेटिएसँगै सीमा जोडिएको दुई नम्बर वडालाई पनि सिल गरिएको छ । भुल्केका २१ सयको र्याँपिड डायग्नोस्टिक विधिबाट र २५० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णयसमेत भएको छ ।
स्थानीय तहसँग पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामग्री भने पर्याप्त छैन । त्रियुगा नगरअन्तरगत ३ वटा स्वास्थ्य चौकी र तीन वटा शहरी स्वास्थ्य केन्द्र छन्, जसमा ८० भन्दा बढी कार्यरत छन् ।
तर अहिले स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रलाई स्थानीय स्तरमा बसेको पीपीई दुईदुई सेट दिइएको छ । ‘अहिले हामी थप सुरक्षा सामग्रीको खोजीमा छौं’ चौधरीले भने, ‘तर किन्न पनि महंगो भन्छन्, विल पनि दिन मान्दैनन् ।’



