उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण पुष्टि |
काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।
त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।



