लकडाउन थपिएकै दिन मुम्बईमा हजारौं मजदुर निस्किए सडकमा, प्रहरीलाई नियन्त्रण गर्न हम्मेहम्मे |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसारकै सबैभन्दा ठूलो लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन् ।
मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका आप्रवासी मजदुरले आफूले घर जान पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री मोदीले अबको एक साता लकडाउन थप कडाइ गर्ने बताएकै दिन मजदुरहरू घर जान पाउनु पर्ने माग राखेर सडकमा निस्किएका हुन् ।
ती मजदुरले यसअघि घोषणा गरिएको लकडाउन आज सकिने अपेक्षा गरेका थिए ।
सडकमा निस्किएका मजदुरलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा अहिले झन्डै १२ करोड आप्रवासी मजदुर विभिन्न राज्यमा अड्किएको बताइन्छ ।


