‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य |
 
                                                                    
                                                                
	काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बैंकको कमलादी स्थित प्रधान कार्यालयमा आयोजित समारोहमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका हुन् ।
	यस सम्झौता अनुसार अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
	उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अमित अग्रवालले भने, “हामी ग्लोबल आईएमई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यस सहकार्य सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”
	त्यसै गरी ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीेले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।”
	ग्लोबल आईएमई बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २४९ वटा शाखारहित बैंकिङ, चार सय ३० एटीएम, एवं ३७ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा प्रदान प्रदान गर्दै आएको छ । १८ लाखभन्दा बढी ग्राहककासाथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
	त्यस्तै, सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । खल्तीको वेबसाईट खल्ती डटकमबाट खल्ती एप डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

 
                                                                     
                                                                    