एनटी फाइबरको माग बढ्दो, टेलिकमद्वारा प्राविधिक तयारी तीव्र
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एनटी फाइबर (NT Fiber) सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको जनाएको छ ।
फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यस सेवाबाट उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिन्छ । सेवाप्रति बढ्दो विश्वास र सकारात्मक प्रतिक्रियाका लागि टेलिकमले सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ ।
बढ्दो मागअनुसार एनटी फाइबर जडान कार्यलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको टेलिकमले जनाएको छ । मागको चाप बढी भएका कार्यालयमा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने कामलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।
सेवाग्राहीको मागअनुसार सेवा विस्तार गर्दै गुणस्तर सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको टेलिकमले स्पष्ट पारेको छ । साथै, सेवा प्रवाहमा अवरोध आउन नदिन आपूर्ति शृङ्खला व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक काम भइरहेको जनाएको छ ।
सरकारी कम्पनी भएकाले आपूर्ति शृङ्खला व्यवस्थापनमा विधिसम्मत प्रक्रिया अवलम्बन गर्नुपर्ने र त्यसलाई निरन्तर सेवा प्रवाहसँग जोडेर अघि बढाइएको टेलिकमले उल्लेख गरेको छ ।
एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाएको विश्वास र चासोले सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरणा मिलेको कम्पनीको भनाइ छ ।



