“विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स”
काठमाडौं । विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी ग्वाङ्सी लिउगङ मेसिनरी (Guangxi LiuGong Machinery) द्वारा उत्पादित लिउगङ (LiuGong) ब्रान्डका निर्माण उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रा. लि. नियुक्त भएको छ।
यस सहकार्यअन्तर्गत ओम्नी मुभर्सले नेपालमा लिउगङका निर्माण उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स उपलब्ध गराउनेछ। यसले नेपालका निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा कार्यरत व्यवसायीलाई विश्वस्तरीय निर्माण उपकरणमा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर तथा मोटर ग्रेडरलगायत ३० भन्दा बढी उत्पादन शृङ्खलाका निर्माण उपकरण उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन तथा सेवाहरू विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्।
ओम्नी मुभर्स प्रा. लि. ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो। नेपालको अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। ग्रुपसँग BharatBenz, Chery Wanda, Apollo Tyres र Valvoline जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू आबद्ध छन्।
लिउगङ र ओम्नी मुभर्सबीचको यस सहकार्यले नेपालमा आधुनिक निर्माण उपकरणको पहुँच विस्तार गर्नुका साथै भरपर्दो बिक्रीपछिको सेवा र प्राविधिक सहयोगमार्फत ग्राहकलाई दीर्घकालीन लाभ पुर्याउने विश्वास गरिएको छ।



