चितवनको ‘आयोन वाई प्लस’ आगलागी प्रकरण : ब्याट्री र सर्ट सर्किटमा समस्या नदेखिएको जीएसीको निष्कर्ष
काठमाडौं । चितवनमा आयोन वाई प्लस विद्युतीय सवारीसाधनमा भएको आगलागी घटनामा ब्याट्री तथा विद्युतीय प्रणालीमा कुनै खराबी नरहेको जीएसी इन्टरनेसनलको अनुसन्धानले निष्कर्ष निकालेको छ। कम्पनीले आगलागी सवारीसाधनको ब्याट्री वा विद्युतीय प्रणालीसँग असम्बन्धित बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको जनाएको छ।
सीजी मोटर्स प्रालिले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२६ सेप्टेम्बर ११ मा चितवनमा भएको घटनालाई जीएसी इन्टरनेसनल कम्पनी लिमिटेडले उच्च प्राथमिकतामा राख्दै तत्कालै वरिष्ठ प्राविधिक टोली परिचालन गरी अनुसन्धान गरेको थियो।
विस्तृत अनुसन्धानपछि सवारीसाधनको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको पाइएको कम्पनीले जनाएको छ। ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित अवस्थामा रहेको अनुसन्धानबाट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। यसले आगलागीको स्रोत ब्याट्री नभएको निष्कर्षलाई पुष्टि गर्ने कम्पनीको भनाइ छ।
त्यस्तै, सवारीसाधनका वायरिङ हार्नेस तथा बरामद गरिएका विद्युतीय उपकरणहरूको विस्तृत परीक्षण गर्दा सर्ट सर्किट भएको कुनै प्रमाण फेला नपरेको कम्पनीले जनाएको छ। सर्ट सर्किटका कारण तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको संकेतसमेत नदेखिएको विज्ञप्तिमा उल्लेख छ।
अनुसन्धानले सवारीसाधनका विद्युतीय पार्टपुर्जा वा प्रणालीमा अन्तर्निहित उत्पादनगत त्रुटि अथवा खराबीका कारण आगलागी भएको सम्भावना पनि नदेखाएको कम्पनीको दाबी छ। प्रतिवेदनले आगलागी सवारीसाधनको ब्याट्री र विद्युतीय प्रणालीसँग असम्बन्धित बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको निष्कर्ष निकालेको छ।
जीएसी इन्टरनेसनलले आफू विश्वभर करिब तीन करोड सवारीसाधन उत्पादन गरिसकेको सवारीसाधन निर्माता कम्पनी भएको उल्लेख गरेको छ। कम्पनीका अनुसार यसले अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्ड पालना गर्दै आएको छ भने नेपालमा उपलब्ध जीएसीका सवारीसाधनले पनि सोही विश्वव्यापी मापदण्ड पूरा गरेका छन्।
कम्पनीले सवारीसाधनको सुरक्षा, गुणस्तर र विश्वसनीयताका उच्चतम मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ। साथै, यस विषयमा सम्बन्धित सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
सीजी मोटर्स प्रालिले ११ मंसिर २०८३ मा सार्वजनिक गरेको उक्त विज्ञप्तिमा अनुसन्धानको निष्कर्ष जीएसी इन्टरनेसनलको प्रतिवेदनमा आधारित रहेको जनाएको छ।



