कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज मंसिर १० गतेदेखि खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको हो । उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि न्यूनतम आवेदन १० कित्ता र अधिकतम ७ हजार कित्ता तोकिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर आवेदन दिने अवधि छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस १३ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले आवेदन फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । उनीहरूले मेरो सेयरमार्फत पनि आवेदन दिन पाउनेछन् ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको वित्तीय प्रक्षेपणअनुसार साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।



