चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन
चितवन । चीनको सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा गरिएको परीक्षण खेतीबाट प्रतिहेक्टर ६ दशमलव ८६० मेट्रिक टन धान उत्पादन भएको हो ।
नेपाल र चीनबीचको कृषि विज्ञान तथा प्रविधि सहकार्यअन्तर्गत गरिएको परीक्षण सफल भएपछि मंगलबार धान कटानी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चिनियाँ कृषि विज्ञ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेल, चिनियाँ दूतावासका प्रतिनिधि, परियोजनामा आबद्ध संस्था तथा स्थानीय किसानको सहभागिता थियो ।
चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका धान विज्ञ वाङ छ्यानले नेपाली तथा चिनियाँ विज्ञको संयुक्त अनुसन्धान, प्राविधिक सहयोग र निरन्तरको मेहनतबाट उक्त उत्पादन हासिल भएको जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति कट्टेलले आठ सय दिनभन्दा बढी समयको अनुसन्धान र परीक्षणपछि प्राप्त उपलब्धिले नेपालको कृषि अनुसन्धान तथा उत्पादन वृद्धि गर्ने सम्भावना देखाएको बताए । चिनियाँ प्रतिनिधिमण्डलका नेता तान पिङले यसलाई नेपाल–चीन कृषि प्रविधि सहकार्यको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
सन् २०२३ मा सुरु भएको चोङछिङ सहयोगको दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजनाअन्तर्गत नेपालमा धान, भैंसीपालन र तरकारी उत्पादनका तीनवटा प्रविधि प्रदर्शन केन्द्र सञ्चालनमा छन् । तरकारी खेती परियोजनाबाट लगातार दुई वर्ष सफल उत्पादन हुनुका साथै किसानलाई कतारलगायत मध्यपूर्वका देशमा तरकारी निर्यात गर्नसमेत सहयोग पुगेको जनाइएको छ ।
कार्यक्रमपछि चिनियाँ प्रतिनिधिमण्डलले विश्वविद्यालयको प्रयोगशाला, कृषि प्रविधि प्रदर्शन क्षेत्र र अनुसन्धान पूर्वाधारको अवलोकन गरेको थियो । साथै हाइब्रिड धानको थप अनुसन्धान, तोरी खेतीको विकास र कृषि प्रविधि हस्तान्तरणमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल–चीनको संयुक्त प्रयासबाट प्राप्त यो उपलब्धिले नेपालको कृषि उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र आधुनिक कृषि प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




