अटिजम भएका बालबालिकाका लागि स्कूल तथा अनुसन्धान केन्द्र निर्माण सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा नं. २९ मा अटिजम भएका बालबालिका, अभिभावक र जनप्रतिनिधिसहित अटिजम स्कूल तथा अनुसन्धान केन्द्रको शिलान्यास गर्नुभएको छ । आज आयोजना गरिएको एक समारोहकाबीच वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गर्नुभएको हो ।
जग पूजा तथा शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारबाट अटिजम भएका बालबालिकाका लागि स्कूल बनाउनु महानगरपालिकाले देखेको सपना र अभिभावकहरुले गर्नुभएको अपेक्षा पूरा हुने चरणमा पुगेको बताउनुभयो । ‘हामी काठमाडौँलाई समतामूलक, समावेशी, करुणा र ममता तथा मानवतामा आधारित सहर बनाउने प्रयासमा छौँ । यही क्रममा अटिजम भएका बालबालिकाका लागि स्कूल र अनुसन्धानका लागि भवन निर्माण गर्न लागेका हौँ ।’ उहाँले धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘अटिजम र बौद्धिक अपाङगता भएका बालबालिकालाई छुटयाउन खोजिएको हो कि भन्ने पनि लाग्न सक्छ । तर, त्यसो होइन । सन्तुलित समाजका लागि फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहारका लागि योग्य बनाउन विशेष अभियान चलाएका हौँ ।’
उहाँले, सरकार (गभर्मेन्ट), अभिभावक (प्यारेन्ट्स), पेशाकर्मी (प्रफेसनल) को साझेदारिता (पार्टनरसिप) मा कार्यक्रमले दिगोपना प्राप्त गर्ने र फरक आवश्यकता भएकाहरुको चाहना पूर्ति गर्न सकिने बताउनुभयो । ‘विद्यालयको भौतिक संरचना पूरा हुञ्जेलसम्ममा सञ्चालन कार्यविधि तर्जुमा गरेर प्रणालीमा आधारित कार्यक्रम सञ्चालन गर्नेछौँ ।’ उहाँको भनाइ छ ।
त्यस क्रममा वडाध्यक्ष कुश ढकालले भन्नुभयो, अटिजम भएका बालबालिका आफैँले समस्या पीडा महसुस गर्न सक्दैनन् । पीडा त अभिभावकलाई हुन्छ । अभिभावकहरुको पीडामा साथ दिन वडासँगै अटिजम स्कूल निर्माण हुनु वडाबासीकै लागि पवित्र काम हो । यो वडाको गौरवको योजना पनि हो । हामीले थालेको यो कर्मबाट अन्य स्थानीय तहमा पनि अटिजम विद्यालय निर्माणमा प्रोत्साहन हुन सकोस् ।’
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० बर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ । १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ ।
भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भ¥याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ ।
जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरु पहुँचयुक्त हुनेछन् ।
भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।
काठमाडौँमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । समारोहमा उपस्थिति अभिभावकहरुको आँखा खुशीले रसाएका थिए । त्यस क्रममा अभिभावक सुनिता प्याकुरेलले भन्नुभयो, ‘हामीलाई बल्ल सास फेर्न सजिलो हुनेभयो ।’
‘मेरो छोरो छिटो जन्मिएछ । अहिले भएको भए मलाई कति सजिलो हुन्थ्यो होला ।’ अर्का अभिभावक मीना ढुङ्गानाले भन्नुभयो, ‘मेरो छोरो ३२ वर्षको भयो । उसको मैले नै पुरै समय सेवा गर्नुपर्छ । मैले अरु केही गर्न पाइन । अहिले भएको भए त केही गर्ने अवसर पनि पाइने रहेछ । महानगरपालिकाले हाम्रो लागि काम गरेको छ । खुशीको सीमा रहेन ।’ अर्का अभिभावक मिसान वान्तावाले भन्नुभयो, ‘सरकारले दिएको ठाउँ नहुँदा आर्थिक बोझ बोकी सक्ने नै थिएन । निजी क्षेत्रमा गयो भने ४० हजार र ४५ हजार मासिक खर्च देखाउँछन् । यो त ब्यहोर्नै सकिँदैन । यसैले महानगरपालिका त हाम्रा लागि अभिभावक मात्र होइन । जीवनदाता नै भएको छ ।’
यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरुको सहायताका लागि बहुउपयोगी स्थान हुनेछ । यो त धेरै नै खुशीको कुरा हो । कार्यक्रममा अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले भन्नुभयो, ‘हामीले महानगरपालिकाको अभिभावकत्व पाएका छौँ । हर्ष विभोर भयौँ ।’ विशेष स्कूल तथा पुनःस्थापना केन्द्रका अध्यक्ष सविता उप्रेतीले, ‘सरकार, अभिभावक र बालबालिका एकै ठाउँमा राख्नका लागि महानगरपालिकाले थालेको काम प्रशंशा योग्य छ ।’ अभानी फाउन्डेसन, फ्रेण्डस् अफ प्यारेन्टस अफ चिल्ड्रेन विथ अटिजम, नेपाल अटिजम विद्यालय, असंवादी कल्याण संघ, निर्मल बाल विकास विद्यालय, किवानिज इन्टरनेशनल लगायत अटिजम र बौद्धिक अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुले खुशी व्यक्त गर्नुभयो ।
‘परिवारमा एक जनालाई अटिजम छ भने पुरै परिवार नै समस्याग्रस्त हुन्छ । जागिर तथा अन्य पेशा चलाउन कठिन हुन्छ । महानगरपालिकाले अटिजम स्कूल बनाउने भएपछि हामीलाई ठुलो सास आयो । अब चाहिँ गरिखान पाइन्छ भन्ने आशा जागेको छ ।’ कार्यक्रममा अभिभावकको तर्फबाट धारणा राख्दै लीलानाथ कँडेलले धारणा अपेक्षा सुनाउनुभयो । अर्का अभिभावक अजय घिमिरेले भन्नुभयो, यो सामाजिक समस्यालाई महानगरपालिकाले महसुस गरेकोप्रति शव्दमा व्यक्त गर्न नसकिने आभारी छौँ ।
कार्यक्रममा वडा सदस्य रेनु श्रेष्ठले, वडावासीका लागि गौरवको योजना कार्यान्वयन हुन लागेको बताउनुभयो । यस्तै वडा सचिव शम्भु बरालले, भवन निर्माण कार्यले लोककल्याणकारी राज्यको गहन सन्देश प्रवाह भएको बताउनुभयो ।
भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट भएको हो ।



