आर.एम.सी. फुड्सलाई उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान
काठमाडौं । आर.एम.सी. फुड्स प्रा.लि.ले एकैपटक दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनीले उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान पाएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर अन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा आर.एम.सी. फुड्स सम्मानित भएको छ । गत मंसिर ७ गते २०८३ मा ‘कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मान-पत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो ।
त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा कम्पनीले ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ को सम्मान प्राप्त गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा मुलुकबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा भन्सार विभागको सिफारिसका आधारमा आर.एम.सी. फुड्सलाई यो सम्मान प्रदान गरिएको हो ।
‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मंसिर ९ गते २०८३ मा आयोजित समारोहमा प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले सम्मानपत्र प्रदान गर्नुभयो भने मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरे आर.एम.सी. ग्रुप अन्तर्गत सञ्चालित आर.एम.सी. फुड्स प्रा.लि.ले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल लगायतका गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ ।
सम्मानपछि धारणा राख्दै नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष समेत रहनुभएका राजेश कुमार अग्रवालले भने, ‘नेपाल सरकारबाट प्राप्त यो सम्मानले हामीलाई स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको छ। देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहनेछ ।’



