जोन्टा क्लब काठमाडौंको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बसन्तपुरमा सुरु
काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ आज काठमाडौंको बसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै सुरु गरेको छ।
अभियानको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा जोन्टा क्लब काठमाडौंका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको उपस्थिति थियो।
तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा के.सी.ले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको उक्त कला स्थापनाले महिला तथा किशोरीहरूले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चुपचाप सहन बाध्य भएका भावनात्मक तथा सामाजिक पीडालाई उजागर गरेको छ।
‘उनका धेरै झोला छन्, सबैले देख्छन्। तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित यस कलाले महिला तथा किशोरीहरूले भोग्ने डर, दमन, दोषारोपण र चार भित्ताभित्र सीमित पीडाका कथालाई प्रस्तुत गरेको छ। यसले हिंसाका विषयमा मौनता तोड्न, आफ्ना अनुभव खुलेर व्यक्त गर्न र महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि सामूहिक रूपमा अघि बढ्न समाजलाई प्रेरित गर्ने उद्देश्य राखेको छ।
महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, “काठमाण्डू महानगरपालिकाले जोन्टा क्लबसँग महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा सहकार्य गरेर महिला हिंसासम्बन्धी जनचेतना जगाउने र सो पश्चात् पनि महिला हिंसाविरुद्धको यो अभियानलाई निरन्तरता दिने योजना रहेको छ। म पनि महिला भएकोले हाम्रा दिदीबहिनी, आमाहरूले समाजमा भोगिरहेको हिंसा, अपहेलना र लैङ्गिक विभेदबारे अवगत छु। यस्तो अभियानमा हातेमालो गरेर महिला हिंसा र विभेदको अन्त्य गर्नु हामी सबैको जिम्मेवारी हो।”
बसन्तपुरमा स्थापना गरिएको सार्वजनिक कला अभियान अवधिभर सर्वसाधारणका लागि खुला रहनेछ। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ (Zonta Says NO) पहलअन्तर्गत आयोजना गरिएको हो।
अभियानको उद्देश्यबारे बोल्दै जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, मृदुला राजभण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनासँगै सामूहिक र निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लैङ्गिक हिंसा अन्त्य गर्न जनचेतना अभिवृद्धिसँगै समाजका सबै तहबाट निरन्तर प्रयास आवश्यक छ। यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्रलाई जोड्दै संवादलाई व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ। युवाको नेतृत्व र समुदायसँगको प्रत्यक्ष संवादमार्फत हरेक महिला तथा किशोरीले सम्मान र मर्यादाका साथ बाँच्न पाउने समाज निर्माणमा हामी प्रतिबद्ध छौँ।”
त्यस्तै, कला स्थापनामार्फत समाजमा ओझेलमा परेका अनुभव र पीडालाई सार्वजनिक संवादमा ल्याउने उद्देश्यबारे बोल्दै जोन्टा क्लब काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दीप्ती आचार्यले भन्नुभयो, “कला आफ्ना पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम हो। अमिषा महर्जन, निर्विता शाक्य र अमिषा के.सी.का सिर्जनाले लैङ्गिक हिंसाको अदृश्य पीडालाई सार्वजनिक संवादमा ल्याउँदै यो कुनै एक महिलाले मात्र बोक्नुपर्ने बोझ होइन भन्ने सन्देश दिएका छन्। युवा सिर्जनाकर्मी, स्थानीय सरकार र नागरिकको सामूहिक प्रयासले मौनता तोड्दै जवाफदेहिताको संस्कार विकास गर्न सकिन्छ।”
कला स्थापनाको अनावरणसँगै क्लबले अभियान अवधिभर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नेछ। ती कार्यक्रमअन्तर्गत युवाको फ्ल्यास मोब, महिनावारी स्वास्थ्य तथा बालविवाहसम्बन्धी सामुदायिक संवाद र निजी क्षेत्रका श्रमिकहरूका लागि कार्यशाला आयोजना गरिनेछ। यसका साथै काठमाडौं र दाङमा सामुदायिक दौड पनि सञ्चालन हुनेछ। अभियानका यी गतिविधि डिसेम्बर १० मा आयोजना हुने समापन सम्मेलनसँगै सम्पन्न हुनेछन्।



