नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ ।
आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।
त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन । तर त्यसमध्ये एक खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदानको हिस्सा रहेको स्रोतले बतायो ।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । त्यसमध्ये भारतले नेपालले अनुरोध गरेअनुरुप नै ऋण सहयोग घोषणा गरेको हो । तर अनुदान रकम भने घटाइएको छ ।
१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।
भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो ।




