नेपाल एसबीआई बैंकद्वारा कुपण्डोल गुरुद्वारामा एटीएम सञ्चालन, बाल पुस्तकालय स्थापनार्थ सहयोग सामाग्रीहरु प्रदान
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समितिको परिसरमा नयाँ एटीएम टर्मिनल सञ्चालनमा ल्याएको छ। बैंकले एटीएम सेवा विस्तारसँगै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाल पुस्तकालय स्थापनाका लागि आवश्यक सहयोग सामग्रीसमेत हस्तान्तरण गरेको छ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले नयाँ एटीएम टर्मिनलको उद्घाटन गरेका हुन्। उक्त अवसरमा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठलगायत बैंक तथा गुरुद्वाराका पदाधिकारीहरूको उपस्थिति थियो।
श्रद्धालु, स्थानीय बासिन्दा तथा बैंकका ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एटीएम टर्मिनल सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। नयाँ एटीएम सेवाबाट उक्त क्षेत्रका सेवाग्राहीलाई नगद झिक्न तथा आवश्यक बैंकिङ कारोबार गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुरुद्वारा परिसरमा बाल पुस्तकालय स्थापना गर्न आवश्यक सहयोग सामग्री प्रदान गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले एक कार्यक्रमबीच समितिका अध्यक्ष प्रितम सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
शिक्षा र ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले प्रदान गरिएको सहयोगले बालबालिकामा पठन संस्कृतिको विकास तथा अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्न योगदान पुग्ने बैंकको विश्वास छ। बैंकले शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामुदायिक विकाससँग सम्बन्धित सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।
३३ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंकको हाल देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
बैंकले बैंकिङ सेवाको पहुँच विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा र सामुदायिक विकासमा समेत योगदान पुर्याउँदै आएको छ।






