गान्धीको अहिंसा र सत्यको मार्गले विश्वलाई प्रेरणा दिइरहेको छ : प्रधानमन्त्री शाह
नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
आज बिहान राष्ट्रपति भवनमा आयोजित औपचारिक स्वागत समारोह (‘गार्ड अफ अनर’) लगत्तै राजघाट पुग्नुभएका प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलको परिक्रमा गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।
श्रद्धाञ्जली अर्पणपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै प्रधानमन्त्री शाहले महात्मा गान्धीको विचार र आदर्शको उच्च प्रशंसा गर्नुभयो। उहाँले लेख्नुभएको सन्देशमा भनिएको छ, “गान्धीजीको अहिंसा, सत्य र सद्भावको विरासतमा मैले एक अमर ज्योति देखेको छु, जसले आज पनि विश्व मानव समुदायलाई शान्ति र न्यायको मार्गमा हिँड्न निरन्तर प्रेरणा दिइरहेको छ।”
राजघाटको कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ताका लागि हैदरावाद हाउस प्रस्थान गर्नुभएको थियो।




