याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाको सुरक्षा रणनीति एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ। उनले नेपालसहित विभिन्न देशमा सञ्चालन भइरहेका कम्पनीका मोबिलिटी सेवामा सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र जोखिम न्यूनीकरणसम्बन्धी अभ्यासको विकास तथा विस्तार गर्ने जिम्मेवारी पाएका छन्।
दुबईमा मुख्यालय रहेको याङ्गो ग्रुपका अनुसार जेम्ल्यान्स्कीले कम्पनीका उत्पादन, व्यवसाय तथा सञ्चालन टोलीसँग समन्वय गर्दै विश्वका विभिन्न बजारमा सुरक्षा रणनीति कार्यान्वयन गर्नेछन्। उनले सडक सुरक्षा संस्थाहरू र स्थानीय निकायसँग पनि सहकार्य गर्नेछन्।
कम्पनीले सुरक्षा जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गर्ने जनाएको छ। यसका साथै रुट निगरानी प्रणाली, चालकको पहिचान प्रमाणीकरण र खाता सुरक्षालाई थप प्रभावकारी बनाइनेछ। विभिन्न देशको सडक अवस्था र यातायात सेवाको प्रकृतिअनुसार सुरक्षा प्रविधि तथा प्रक्रियालाई अनुकूल बनाउने कम्पनीको योजना छ।
याङ्गो ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा याङ्गो राइडटेकका प्रमुख व्यवसाय अधिकृत एडेनीयी एडेबायोले जेम्ल्यान्स्कीको नियुक्तिले कम्पनीको दीर्घकालीन व्यावसायिक विकासमा सुरक्षाको महत्त्व थप बलियो बनाउने बताए। उनका अनुसार उत्पादन विकासदेखि दैनिक सञ्चालनका निर्णयसम्म सुरक्षा प्राथमिकतामा राखिनेछ।
कम्पनीले गत सेप्टेम्बरमा सार्वजनिक गरेको पहिलो याङ्गो राइड सुरक्षा प्रतिवेदनअनुसार विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन्। प्रतिवेदनमा उक्त दर ९.८३ बाट घटेर ६.७६ मा पुगेको उल्लेख छ। यो तथ्यांक कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा आधारित हो।
याङ्गोले दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न बजारमा चालक तथा कुरियरका लागि तालिम, हेल्मेट र सुरक्षात्मक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नेपाल, पाकिस्तान, सेनेगल, कोलम्बिया र भेनेजुएलालगायतका देशमा सयौँ हेल्मेट वितरण गरिएको कम्पनीको दाबी छ।
जाम्बियाको लुसाकामा जाम्बिया रोड सेफ्टी ट्रस्टसँगको सहकार्यमा सञ्चालन गरिएको ‘सेफर जर्नीज टु स्कुल’ कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षा शिक्षा प्रदान गरिएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रम सेनेगलसम्म विस्तार भइसकेको र अफ्रिकाका अन्य देशमा पनि सञ्चालन गर्ने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ।
जेम्ल्यान्स्कीले विगत पाँच वर्षदेखि राइड हेलिङ सेवामा सुरक्षा प्रविधिसम्बन्धी काम गर्दै आएका छन्। उनले प्राविधिक उत्पादन व्यवस्थापकबाट सुरु गरेको व्यावसायिक यात्रामा सुरक्षा प्रविधि प्रमुखसम्मको जिम्मेवारी सम्हालेका छन्।
संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको याङ्गो ग्रुपले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एसियासहित ३५ भन्दा बढी देशमा मोबिलिटी, डेलिभरी, फुडटेक तथा अन्य डिजिटल सेवा सञ्चालन गर्दै आएको छ।




