एप्पलको आम्दानी ५६ अर्ब डलर |
वासिङ्टन । आईफोनको आम्दानी पहिलो आर्थिक त्रैमासमा ५६ अर्ब डलर भएको एप्पलले जनाएको छ । यो आम्दानी विश्लेषकहरूको अनुमानभन्दा पनि बढी हो । यसले आईफोन–११ ले बलियो सुरुवात गरेको प्रमाणित गरेको छ ।
पहिलो त्रैमासिक अवधिमा आईफोनको आम्दानी अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएको छ र चौथो त्रैमासमा आईफोनको बिक्रीबाट भएको ३३.३६ अर्ब डलरबाट उकालो लागेको छ । विश्लेषकहरूले पहिलो त्रैमासिक अवधिमा ५१।६२ अर्ब डलरको आम्दानी हुने अपेक्षा गरेका थिए ।
आईफोन–११ को यो बिक्रीमा बिक्रीको पहिलो पूर्णकालीन अवधिको आंशिक योगदान रहेको छ । यो फोन गत वर्ष लन्च गरिएको थियो । यो आम्दानीले आईफोन–११ र आईफोन–११ प्रो मोडलको बलियो माग रहेको देखिएको सिइओ टीम कुकले बताएका छन् ।
“मानिसले ब्याट्रीको आयु मन पराएका छन् । उनीहरूले क्यामेरा मन पराएका छन् । उनीहरूले औद्योगिक डिजाइन मन पराएका छन् । ब्याट्री पूरै दिनभरि टिक्छ,” कुकले बताए । यसको मूल्य पनि सही भएकाले बिक्री राम्रो भएको भनाइ उनको थियो ।
फिस्कल पहिलो त्रैमासले बिदाको मौसमलाई पनि समेट्छ, जसले वर्षको अन्य समयको तुलनामा आम्दानी पनि उच्च गराएको छ । एप्पलले अन्य खालका व्यवसायहरू वेरेबल र सेवातर्फ पनि आफ्नो ध्यान केन्द्रित गरेको छ । स्मार्टफोन बजारमा व्यापक स्थिरता देखिएकाले एप्पलले आफ्नो व्यवसायलाई स्मार्टफोनबाहेक अन्यत्र पनि बढाउन लागेको हो । एजेन्सी


