केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, तिर्न थाल्यो ऋणको दायित्व र व्याज
काठमाडौं। चितवनको सौराहमा सञ्चालित पाँचतारे डिलक्स होटल रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटी तेस्रो वर्षमा प्रवेश गरेको छ। २०८१ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको केटिएम हस्पिटालिटीले शुक्रबार काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
वार्षिक साधारण सभाको अवसरमा कम्पनीमा अध्यक्ष रामेश्वर शाहले कम्पनीको बारेमा जानकारी गराएका थिए। उनले शेयरधनीहरुलाई कम्पनीको अवस्था र कम्पनीले अब गर्ने कामको बारेमा समेत जानकारी दिएका थिए।
उनले हालै पूर्ण रुपमा सञ्चालनमा आएको यस होटलले एक वर्षकै बीचमा थोरै भएपनि ऋणको दायित्व र व्याज तिर्न सुरु गरेको जानकारी दिए। यो वर्षको पहिलो त्रैमासको दायित्व असोजमै बुझाएको उनले बताए।
सञ्चालनमा आएको छोटो समयमै आन्तरिक एवंम बाह्य पर्यटकहरुको आगमण राम्रो भएको र पर्यटन विभागले पनि पाँचतारे डिलक्स होटलको मान्यता दिएको जानकारी दिए। परिक्षणकालको शुरुवातमै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन बाट तीनतारा (क) अतिउत्तम खाद्य स्वच्छता स्तर वर्गीकृत चितवनको पहिलो पाँचतारे डिलक्स होटल भएकोले पनि त्यस क्षेत्रमा पर्यटनको नयाँ आयाम थपिएको समेत उनले बताए।
यसै बर्षको शुरुवातमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको यस कम्पनीले आइपिओ जारीका लागि अन्तिम तयारी समेत थालेको छ। धितोपत्र बोर्डमा दिएको निवेदन अनुमतिको चरणमा रहेको छ। स्वीकृति पश्चात कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने छ।
राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिंग रेस्टुरेन्ट समेतका सुविधा छन्। उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ–फर्निचर, ढुंगा टायल जुटको गलैंचा, काठमा गरेको पेन्टिङ, स्थानीय सजावका सामानहरु, मान्द्रो आदिको ब्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन्।
यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स् ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी हाल पूर्ण रूपमा सञ्चालनमा आएकोछ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो। रोयल ट्युलिप चितवनले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र क्षेत्रको पर्यटन उद्योगमा सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरूको अपेक्षा रहेकोछ।




