नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट
काठमाडौँ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने RFID प्रविधिमा आधारित एन–ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर फैलिएका यसका शाखाबाट सहजै लिन सकिने भएको छ ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन (Electronic Toll Collection) प्रणाली लागू गरिएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको उपकरणले स्वतः पहिचान गर्नेछ । त्यसपछि टोल रकम सम्बन्धित ट्यागबाट आफैँ कट्टा भई गेट खुल्ने भएकाले यात्रुले लाइनमा कुर्नु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन् ।
सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गएर एन–ट्याग लिन सक्नेछन् । एन–ट्यागमा ईसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिनेछ ।
बैंकले यो सेवा काठमाडौंभित्र मात्र सीमित नगरी देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराएको छ । यसले उपत्यकाबाहिरका सवारीधनीहरूलाई समेत आफ्नो नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्ने सुविधा प्रदान गर्नेछ ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संजेलले नागढुंगा सुरुङमार्गजस्ता राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु गौरवको विषय भएको बताए ।
उनले भने, “नागढुंगा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध छ ।”




