सीएनआईवाईईएफ र स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे ह्याकाथन हुँदै
काठमाडौं । नेपालमा स्टार्टअप उद्यमशीलताको विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ ।
नोभेम्बर ५ र ६ (कात्तिक १९ र २०) मा काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुने ह्याकाथनमा नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअपलाई सहभागी गराइने आयोजकले जनाएको छ ।
ह्याकाथनमा सहभागी टोलीले सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गरी समाधानको सम्भाव्यता, व्यावसायिक मोडेल, बजारको आवश्यकता तथा विस्तारको योजनासहित निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्नेछन् ।
कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ । छनोट भएका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
ह्याकाथनको उद्देश्य उत्कृष्ट व्यावसायिक विचार पहिचान गर्नुका साथै तिनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, मार्गदर्शन र व्यावसायिक सञ्जालसँग जोड्नु रहेको आयोजकले जनाएको छ ।
नेपालका प्रारम्भिक चरणका स्टार्टअपले लगानीमा पहुँच, बजारमा पहिचान स्थापित गर्ने अवसर, अनुभवी मार्गदर्शक तथा व्यावसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गर्दै आएका छन् । यस्तो अवस्थामा ह्याकाथनले उद्यमीलाई आफ्ना व्यावसायिक समाधान परीक्षण गर्न, अवधारणा परिष्कृत गर्न र सम्भावित लगानीकर्तासमक्ष पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलताको संस्कृति विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ । यसले सम्भावनायुक्त उद्यमीको पहिचान, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान र लगानीका अवसरसँग जोड्ने कामलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
ह्याकाथनमा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको माध्यमबाट आवेदन दिन सक्नेछन् ।




