विराटनगरले जनकपुरलाई २ रनले हरायो
काठमाडौं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो ।
विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिएका रसेलले खेलमा ४ विकेट लिए ।
विराटनगरले सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दु२ खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । चार खेलमा जनकपुरको यो दोस्रो हार हो । जनकपुरको पनि ४ खेलबाट ४ अंक नै छ ।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । उनलाई रसेलले अन्तिम बलमा बसिर अहमदबाट क्याचआउट गराए । ४८ बल खेलेका हसनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन जोडे ।
जनपुरले ३० रन हुँदा सुरुवाती ३ विकेट गुमाएको थियो । तर सेफ हसन र विशाल सुशलिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै जनकपुरको इनिङ्स सम्हालेका थिए ।
यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा २ चौका र ३ छक्का मदतमा ४३ रन बनाए । विशाल आउट भएपछि जिमी निशमले सेफ हसनलाई साथ दिँदै आक्रमक ब्याटिङ गरेका थिए । निशमले १५ बलमा ३ चौका प्रहार गर्दै २९ रन जोडे । पाँचौ विकेटका लागि हसन र निशमले ५६ रनको अर्धशतकिय साझेदारी गरेका थिए ।
तर निशमलाई विराटनगरका रुपशे सिंह्यले १९औं ओभरको अन्तिम बलमा आउट गर्दै विराटनगरलाई खेलमा फर्काए । सेफ हसनले अन्तिमसम्म क्रिजमा रहेर जितको प्रयास गरेपनि अन्तिम बलमा आउट हुँदा जिताउन सकेनन् ।
बलिङमा विराटनगरका लागि आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । आन्द्रे रसेलले अविजित ५२ रन बनाए ।
एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।
ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । यस सिजन यो पहिलो शतकिय साझेदारी हो ।
यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । आक्रमक ब्याटिङ गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।




