अण्डाको मूल्य बढ्यो
काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ।
संघको कात्तिक १२ मा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका महासचिव मदन पोखरेलले जानकारी दिएका छन्। संघले चितवनलाई आधारमानी अण्डाको डिपो/ डिलर होलसेल बिक्रि समर्थन तय गरेको जानकारी दिएको छ।
जसअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ।
संघका अनुसार एक्सएल अण्डा (१४:५-१४:८ केजी) को समर्थन मूल्य अब ३९०० पुगेको छ भने ठुलो अण्डा (१३.५-१३.८ केजी) को समर्थन मूल्य ३८०० पुगेको छ। त्यसैगरी मिडियम अण्डा (१२.५- १२.८ किलो) को समर्थन मूल्य ३७०० पुगेको छ भने सानो अण्डा (११+) को ३२०० पुगेको संघले जनाएको छ। यसअघि एक्सएल अण्डाको ३७००, ठुलो अण्डाको ३६००, मिडियम अण्डाको ३५०० र सानो अण्डाको ३१०० रहेको थियो।
त्यस्तै, संघले उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति दुई वटाको ४५ कायम गरिएको जनाएको छ।




