तेस्रो संस्करणको एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज (सोमबार) देखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । आठ टोलीको सहभागिता रहने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त हुनुका साथै चर्चित विदेशी खेलाडीको सहभागिताले यस संस्करणलाई थप आकर्षक बनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी
साविक विजेता लुम्बिनी लायन्स यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । टोलीले विदेशी खेलाडीमा बंगलादेशका शमन हुसेन र अमेरिकाबाट खेल्ने दक्षिण अफ्रिकी मूलका श्याडली भान शाल्कविकलाई अनुबन्ध गरेको छ । यस्तै, नामिबियाका रुबेन ट्रम्पलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोशन डिकवेलालाई निरन्तरता दिएको छ ।
लुम्बिनीमा नेपाली राष्ट्रिय टोलीका खेलाडीको पनि बलियो उपस्थिति छ । कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, शेर मल्ल र सन्दीप जोरालगायत खेलाडी टोलीका प्रमुख सदस्य हुन् ।
अक्सनबाट लुम्बिनीमा आबद्ध भएका आसिफको आगमनले टोलीको ब्याटिङलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उनी यसअघिका दुई संस्करणमा जनकपुर बोल्ट्सका मार्की खेलाडी थिए । कप्तान पौडेल ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्ने खेलाडी हुन् ।
यस्तै, शेर मल्ल लुम्बिनीका महत्त्वपूर्ण स्पिनर हुन् । उनले एनपीएलका अघिल्ला दुई संस्करणमा कुल २४ विकेट लिएका छन् । उनको प्रदर्शन पनि लुम्बिनीका लागि निर्णायक बन्न सक्छ ।
पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम
लगातार दुई संस्करण फाइनलमा पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्स यसपटक उपाधि जित्ने लक्ष्यमा छ । अघिल्ला दुई संस्करणको अनुभवलाई उपयोग गर्दै टोली पहिलोपटक च्याम्पियन बन्न चाहन्छ ।
त्यसका लागि सुदूरपश्चिमले विदेशी खेलाडीको लाइनअपलाई पनि बलियो बनाएको छ । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफेन रदरफोर्ड र फाबियन एलेनलाई टोलीमा भित्र्याएको छ । यस्तै, न्युजिल्यान्डका स्कट कुगेलेइन, स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन र इंग्ल्यान्डका सैफ जैबलाई निरन्तरता दिएको छ ।
टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी गत संस्करणको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन चाहन्छन् । उनले एनपीएलका अघिल्ला दुई संस्करणमा ३ सय ८९ रन बनाउनुका साथै १८ विकेट लिएका छन् । उनको अलराउन्ड प्रदर्शन सुदूरपश्चिमका लागि महत्त्वपूर्ण हुनेछ ।
यस्तै, विकेटकिपर ब्याटर विनोद भण्डारी पनि टोलीका भरपर्दा खेलाडी हुन् । उनले गत संस्करण नौ खेलमा दुई अर्धशतकसहित २ सय ६४ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका थिए ।
बलिङतर्फ स्कट कुगेलेइन र अविनाश बोहराको प्रदर्शन सुदूरपश्चिमका लागि महत्त्वपूर्ण हुनेछ । कुगेलेइनले अघिल्ला दुई संस्करणमा २७ विकेट लिएका छन् भने अविनाशले २४ विकेट आफ्नो नाममा लेखाएका छन् । अविनाश गत संस्करण सर्वाधिक विकेट लिने बलरसमेत बनेका थिए । उनले एकै संस्करणमा १७ विकेट लिएका थिए ।
यस्तै आरिस शेख, इशान पाण्डे र हेमन्त धामीजस्ता नेपाली खेलाडीको प्रदर्शनले पनि सुदूरपश्चिमको उपाधि यात्रामा प्रभाव पार्न सक्छ ।
दुवै टोलीमा राष्ट्रिय तथा विदेशी खेलाडीको बलियो संयोजन रहेकाले उद्घाटन खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको लुम्बिनी र पहिलोपटक च्याम्पियन बन्न चाहेको सुदूरपश्चिमबीचको भिडन्तसँगै यस वर्षको एनपीएलको रोमाञ्चक सुरु हुनेछ ।




