सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, ४ प्रतिशत लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको एनएफआरएसअनुसार तयार गरिएको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।
साधारणसभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। जसमा ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश समावेश छ।
बैंकका अनुसार हालको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत बराबर ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँको बोनस सेयर र ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। कुल लाभांश रकम ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ रहेको छ।
बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। पछिल्लो २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको बैंकको भनाइ छ।
सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई बैंकको आगामी रणनीति र कामकारबाहीमा समेट्दै संस्थागत सुशासन तथा अनुपालनको स्तर थप सुदृढ बनाइने बताए।
बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारमा समेत जोड दिएको जनाएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रीलान्सर लक्षित ‘फ्रीलान्सर सेभिङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ।
त्यस्तै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।




