संघमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाबारे छलफल
बिराटनगर । मोरङ उद्योग व्यापार संघमा जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालको उपस्थितिमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार साहले चाडपर्वका बेला बजारमा हुने भीडभाडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन आग्रह गर्नु भएको छ । साथै, चाडपर्वको अवसरमा चोरी–डकैती, अवैध पैठारी तथा गैरसामाजिक र आपराधिक गतिविधिहरु बढ्ने जोखिम रहने हुँदा त्यसको कडा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उहाँले उपभोक्ता र व्यवसायीको सुविधाका लागि रात्रिकालीन समयसम्म बजार खुला रहने वातावरण सिर्जना गरी उद्योगी–व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनलाई अनुरोध गर्नु भएको छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक कवित कटवालले चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरिएको जानकारी गराउनु भएको थियो । कोशी प्रदेशको राजधानी विराटनगरसहित जिल्लाभर ड्रोन प्रविधि, सादा पोशाकका प्रहरी र विशेष संयन्त्र परिचालन गरी निगरानी बढाइएको बताउँदै उहाँले चाडपर्वका बेला मादक पदार्थ सेवन (मापसे) का कारण हुने सवारी दुर्घटना न्यूनीकरण, जिल्लाका १० प्रमुख बसपार्कहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी गराउनु भएको थियो । साथै, सामाजिक सञ्जाल (फेसबुक र टिकटक) मार्फत सचेतनामूलक अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले कुनै पनि शंकास्पद गतिविधि देखिए आपतकालीन नम्बर १०० मा तुरुन्त सूचना दिन आग्रह गर्दै सूचनादाताको पहिचान पूर्ण रुपमा गोप्य राखिने समेत स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।



