थाई भिसामा मनपरीको आरोप, नेपाली यात्रु आर्थिक जोखिममा: OTAN ले माग्यो जवाफदेहिता
काठमाडौं । थाइल्याण्डको भिसा प्रक्रियामा पारदर्शिताको अभाव, अस्पष्ट कारणमा आवेदन अस्वीकृति र निर्णयमा ढिलाइ भएको भन्दै आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल (OTAN) ले काठमाडौंस्थित थाई दूतावासको कार्यशैलीमाथि प्रश्न उठाएको छ। भिसा स्वीकृत हुने निश्चितता नहुँदै हवाई टिकट र होटल बुकिङ गर्नुपर्ने अवस्थाले नेपाली यात्रुलाई आर्थिक जोखिममा पारेको भन्दै एसोसिएसनले तत्काल सुधार र जवाफदेहिताको माग गरेको छ।
OTAN का अध्यक्ष माधव कँडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार, दूतावासले माग गरेका कागजात पूरा गरेर आवेदन दिँदासमेत भिसा अस्वीकृत हुने गरेको छ। पासपोर्टको तस्बिर वा नागरिकताको प्रतिलिपिमा सामान्य त्रुटि देखिए सच्याउने अवसरसमेत नदिई आवेदन अस्वीकृत गरिने गरेको एसोसिएसनको गुनासो छ।
आवेदन दिएको १५ देखि २० दिनपछि नयाँ नियम लागू गरी पुराना आवेदनसमेत अस्वीकृत गरिने अवस्थाले यात्रु थप अन्योलमा परेको OTAN ले जनाएको छ। नियम परिवर्तन गर्दा पहिले नै आवेदन दिएका यात्रुको हकमा स्पष्ट व्यवस्था नहुनु प्रक्रियागत अन्योलको प्रमुख कारण बनेको एसोसिएसनको ठहर छ।
भिसा स्वीकृत हुने ग्यारेन्टी नहुँदा पनि कन्फर्म हवाई टिकट र होटल बुकिङ आवश्यक पर्ने व्यवस्थाप्रति OTAN ले कडा आपत्ति जनाएको छ। भिसा अस्वीकृत भए वा निर्णय आउन ढिलाइ हुँदा यात्रा मिति गुज्रिए यात्रुले टिकट र होटलमा खर्च गरेको रकम गुमाउनुपर्ने जोखिम छ। अर्थात्, भिसा पाउने नपाउने टुंगो नलाग्दै यात्रुले हजारौँ रुपैयाँको जोखिम उठाउनुपर्ने अवस्था रहेको एसोसिएसनको भनाइ छ।
Booking.com र Agoda जस्ता अनलाइन प्लेटफर्मबाट गरिएको होटल बुकिङलाई समेत पर्याप्त मान्यता नदिई होटलबाट छुट्टै पत्र मागिने गरेको विषयमा पनि एसोसिएसनले प्रश्न उठाएको छ। भिसा प्रक्रियालाई सहज बनाउनुपर्नेमा थप कागजी झन्झट र खर्चको भार थपिएको OTAN को दाबी छ।
दशैं, तिहारजस्ता चाडपर्वमा परिवारसहित थाइल्याण्ड घुम्न जाने यात्रुहरू समेत प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ। एउटै परिवारका केही सदस्यको भिसा स्वीकृत हुने र केहीको अस्वीकृत हुने अवस्थाले परिवारको सम्पूर्ण यात्रा योजना प्रभावित हुने गरेको एसोसिएसनले जनाएको छ।
समस्या समाधानका लागि दूतावाससँग सम्पर्क गर्दा फोन नउठ्ने वा स्पष्ट जवाफ नपाइने गरेको गुनासोसमेत OTAN ले गरेको छ। यात्रु आर्थिक क्षतिमा पर्ने तर भुक्तानी गरिसकेको टिकट तथा होटलको रकम फिर्ता नहुने अवस्थाले थप समस्या सिर्जना गरेको एसोसिएसनको भनाइ छ। सम्भावित अनुचित मिलेमतोबारे आशंका व्यक्त गर्दै OTAN ले यस विषयमा निष्पक्ष छानबिनको माग गरेको छ। यद्यपि, मिलेमतो भएको पुष्टि भएको छैन।
एसोसिएसनले पुराना आवेदन पुनर्विचार गर्न, भिसा अस्वीकृत गर्दा स्पष्ट लिखित कारण दिन, सामान्य कागजी त्रुटि सच्याउने अवसर उपलब्ध गराउन र नयाँ नियम लागू गर्नुअघि कम्तीमा ३० दिनको पूर्वसूचना दिन माग गरेको छ। भिसा स्वीकृत हुनुअघि अस्थायी हवाई टिकट तथा होटल बुकिङलाई मान्यता दिन र निर्णयका लागि निश्चित समयसीमा तोक्न पनि आग्रह गरिएको छ।
त्यस्तै, नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाई सरकारसँग कूटनीतिक पहल गरी नेपाली यात्रुको हकहित र आर्थिक सुरक्षा सुनिश्चित गर्न OTAN ले माग गरेको छ।
एसोसिएसनले यात्रुलाई भिसा स्वीकृत नहुँदासम्म फिर्ता नहुने टिकट तथा होटल बुकिङमा ठूलो रकम खर्च नगर्न र मिति परिवर्तन गर्न वा रकम फिर्ता लिन मिल्ने विकल्प रोज्न आग्रह गरेको छ।
थाइल्याण्डको पर्यटन प्रवर्द्धनमा नेपाली ट्राभल एजेन्सीहरूले लामो समयदेखि योगदान दिँदै आएको उल्लेख गर्दै OTAN ले नेपाली यात्रुलाई पनि पारदर्शी, सम्मानजनक र न्यायोचित व्यवहार गर्नुपर्नेमा जोड दिएको छ। भिसा प्रक्रियामा स्पष्टता, समयसीमा र जवाफदेहिता सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने एसोसिएसनको माग छ।




