दसैँमा दक्षिणा दिँदा नोटमा अबिर र रङ नलगाउन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा टीका र जमरासँगै दक्षिणा दिँदा बैंकनोटको जतन गर्न आग्रह गरेको छ। नोटमा अबिर, रङ वा अन्य पदार्थ लगाउँदा बिग्रिने भएकाले सफा र सुक्खा राख्न राष्ट्र बैंकले सर्वसाधारणलाई अनुरोध गरेको हो।
राष्ट्र बैंकको वित्तीय चेतनासम्बन्धी सन्देशमा नोटलाई नच्यात्न, नभिजाउन र फोहोर नबनाउन भनिएको छ। नोटलाई सफा, सुक्खा र सुरक्षित ठाउँमा राख्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।
दसैँमा देवीको प्रसादका रूपमा टीका र जमरासँगै दक्षिणा दिने चलन छ। यस क्रममा बैंकनोटको प्रयोग बढी हुने भएकाले जिम्मेवारीपूर्वक नोटको प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको हो। सम्भव भएसम्म दक्षिणा दिँदा डिजिटल माध्यम प्रयोग गर्न पनि उसले अनुरोध गरेको छ।
सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहून् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोटसम्बन्धी नीति अपनाउँदै आएको छ। नोटमा रङ, अबिर तथा अन्य पदार्थ लगाउने, च्यात्ने, भिजाउने वा फोहोर बनाउने गर्दा नोटको गुणस्तर बिग्रिनुका साथै पुनः प्रयोग गर्न कठिन हुने भएकाले त्यसको संरक्षणमा ध्यान दिनुपर्ने राष्ट्र बैंकको सन्देश छ।
विजया दशमी मनाउने क्रममा नोटको जतन गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै राष्ट्र बैंकले सुरक्षित रूपमा नोट प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



