कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
प्राप्त मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले २१६ मत प्राप्त गरेका छन्। ई. मधु आचार्यले १३९ मत पाएका छन्। त्यस्तै, गोविन्द भट्टराईले १२०, सुरेन्द्रराज पाण्डेले ११८, दीपक गिरीले ९६, धनराज गुरुङले ८६ र प्रा.डा. चन्द्रमोहन यादवले ४७ मत प्राप्त गरेका छन्।
उपसभापति (समावेशी) तर्फ बिनोद कुमार चौधरीले १३० मतसहित अग्रता लिएका छन्। जीवन परियारले १०७ मत प्राप्त गर्दा सीता गुरुङले ६३, फरमुल्लाह मंसुरले ५७ र रंजीत कर्णले ३९ मत पाएका छन्।
महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सबैभन्दा बढी २६९ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले १६२ मत पाएका छन्। उदयशम्शेर राणाले १४६, डा. सुनिलकुमार शर्माले १०५, नैन सिंह महर र गुरुराज घिमिरेले समान ५६ मत प्राप्त गरेका छन्।
त्यस्तै, डा. सन्तोष उपाध्यायले १२ र शंकर तिवारीले ४ मत पाएका छन्। प्राप्त विवरणअनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।
केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले २०३ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १८८ मत प्राप्त गरेकी छन् भने रीता खनालले ८२ मत पाएकी छन्।



