११३ जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुबई, पानीको फोहोराले स्वागत
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।
बुधबार साँझ ६:१८ बजे दुबईबाट ११३ जना यात्रु लिएर आएको फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमानलाई विमानस्थलमा पानीको फोहोरासहित भव्य स्वागत गरियो ।
उक्त विमान आजै १५३ जना यात्रु बोकेर पोखराबाट दुबई फर्किने छ । अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ ।
इमिरेट्स एयरलाइन्ससँगको कोडसेयर साझेदारीअन्तर्गत यो उडान सञ्चालन हुने भएकाले यात्रुहरूले पोखराबाट दुबई हुँदै विश्वका २ सय ५० भन्दा बढी सहरसम्मको यात्रा सहजै गर्न सक्नेछन् ।
काठमाडौंको तुलनामा पोखराबाट प्रमुख गन्तव्यको हवाई भाडा औसतमा तीनदेखि सात हजार रुपैयाँसम्म सस्तो पर्नेछ ।
उडान सुरु भएसँगै स्थानीय व्यवसायीहरूले यात्रुहरूलाई आकर्षित गर्न विभिन्न छुटको घोषणा गरेका छन् । होटल संघ पोखराले पहिलो उडानका यात्रुलाई एक रातको निःशुल्क बास र बिहानको खाजा तथा बोर्डिङ पास भएकालाई ३० प्रतिशतसम्म छुट दिने भएको छ । त्यस्तै, रेबान पोखराले १५ देखि २० प्रतिशत र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसनले २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।
यस उडानले काठमाडौं पुगेर विदेश उड्नुपर्ने झन्झट अन्त्य गर्दै पर्यटक, वैदेशिक रोजगारीमा जाने श्रमिक, विद्यार्थी तथा गैरआवासीय नेपालीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।



