लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी असोज २८ गते २०औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार साधारण शेयरधनीलाई चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। उक्त बोनस शेयरको कुल मूल्य ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा रहेको छ।
बैंकले साधारण शेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ। यसबापत ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
सभाले लेखापरीक्षण समितिको सिफारिसमा चालू आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
विशेष प्रस्तावतर्फ बैंकको प्रबन्धपत्र संशोधन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव रहेका छन्। प्रबन्धपत्र संशोधनका क्रममा सम्बन्धित नियामक निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक थपघट तथा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।
वार्षिक साधारण सभा तथा प्रस्तावित लाभांशका लागि बैंकले असोज १९ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्नेछन्।



