एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बिक्री खुला
काठमाडौं । एनआईसी एशिया बैंकको कोष प्रवद्र्धन तथा एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन हुने एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ।
फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गर्न लागेको हो। कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड २० लाख इकाई अर्थात् १२ करोड रुपैयाँ बराबरको इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ।
बाँकी न्यूनतम ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाका लागि बिक्री खुला गरिएको हो। इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
इकाईमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। त्यस्तै सी–आस्वा प्रणाली वा सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिनेछ।
इकाई निष्काशन आज असोज ७ गतेदेखि खुला भएको हो। निष्काशन छिटोमा असोज १३ गते बैंकिङ समयपछि बन्द हुनेछ। तोकिएको अवधिसम्म मागअनुसार आवेदन नपरेमा नियमानुसार निष्काशन अवधि असोज २१ गतेसम्म थप हुने व्यवस्था रहेको छ। इकाई निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



