एनसेल र नाटोबीच साझेदारी, पर्यटकलाई दूरसञ्चार सेवा सहज
काठमाडौं । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउन एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर (नाटो)बीच साझेदारी भएको छ ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभरका ट्राभल अपरेटरको सञ्जालमार्फत एनसेलका सेवा तथा सुविधाबारे पर्यटकलाई जानकारी दिनेछ ।
नेपालका विभिन्न भागमा यात्रा गर्ने पर्यटकलाई आफ्नो परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन सहज बनाउने उद्देश्यले साझेदारी गरिएको एनसेलले जनाएको छ ।
एनसेलका दत्ता र नाटोका अध्यक्ष श्रेष्ठले यो सहकार्यले पर्यटकको यात्रा अनुभवलाई सहज बनाउने बताएका छन् । दत्ताले साझेदारीले ‘नेपाल कलिङ’ अभियान प्रवर्द्धन गर्न तथा नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए ।
साझेदारीअन्तर्गत एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापनाका लागि नाटोलाई सहयोग गर्ने भएको छ ।
यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ । उक्त पूर्वाधारले राजमार्गमा यात्रा गर्ने पर्यटकसँगै स्थानीय समुदायलाई समेत सुविधा पुग्ने दुवै संस्थाले जनाएका छन् ।



