अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजेको उडानमा काठमाडौँंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डा वाग्लेले आज साँझ ५ः०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । साथै शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । भोलि साँझ ५ः०० बजे भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ताको कार्यक्रम छ ।
शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसैगरी, शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् भने सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ ४ः०० बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ ।
उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन् ।



