रञ्जना निरौलाले जितिन् इटालीको ‘ग्र्यान्ड जुरी प्राइस’
काठमाडौँ । नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता ‘सिटी लाइट्स’ (CITY LIGHTS) का लागि इटालीको ‘इल मेलेतो दि गुइडो गोजानो’ साहित्य पुरस्कारअन्तर्गत ‘ग्र्यान्ड जुरी प्राइस’ प्रदान गरिएको छ ।
मार्च २०२६ मा घोषणा गरिएको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रस्तुत रचनामध्येबाट निरौलाको कविता छनोट भएको हो । विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक तथा कलाकार सम्मिलित अन्तर्राष्ट्रिय निर्णायक समितिले रचनाको मूल्याङ्कन गरी पुरस्कारका लागि छनोट गरेको जनाइएको छ ।
वैदेशिक लेखक निर्णायक समितिमा ओमानकी अमिता सङ्घवी, संयुक्त अधिराज्यकी दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो–हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहेका थिए । निर्णायक समितिको संयोजन लिलिता कोनरियरी र लिडिया कियारेलीले गरेका थिए ।
अमिता सङ्घवी ओमानको सुल्तान काबुस विश्वविद्यालयसँग सम्बद्ध रहेको जनाइएको छ । दाना नेरी बेलायतमा आधारित पत्रकार, अनुवादक, सम्पादक तथा कन्टेन्ट म्यानेजर हुन् । जान्थी होन्द्रो–हिल पुरस्कार विजेता ग्रीक कवि तथा अनुवादक, पेन ग्रीसकी सदस्य तथा ‘नाउसा अन्तर्राष्ट्रिय कविता महोत्सव’की संस्थापक एवं निर्देशक हुन् ।
त्यस्तै, फ्रान्सका मार्को पेर्ना साहित्य र दृश्य कलामा सक्रिय कवि तथा कलाकार र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा दृश्य कलाकार, लेखिका तथा क्युरेटर रहेको जनाइएको छ । लिडिया कियारेली अन्तर्राष्ट्रिय साहित्यिक समुदायमा सक्रिय कवि, अनुवादक तथा वेबमास्टर हुन् ।
पुरस्कार पाएपछि निरौलाले यसलाई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएकी छन् । पुरस्कारले आफ्नो साहित्यिक यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको उनको भनाइ छ ।
उनले सम्मानलाई व्यक्तिगत उपलब्धिमात्र नभई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थिति र यात्राको पहिचानका रूपमा लिएको उल्लेख गरेकी छन् ।



