गरिमा विकास बैंकको साधारणसभा आह्वान, २० प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं। गरिमा विकास बैंकले आफ्नो २०औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आगामी असोज २६ गते पोखराको बस्ने निर्णय गरेको हो।
साधारणसभाले गत आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश करसहित पारित गर्ने एजेन्डा तय गरिएको बैंकको सूचनमा उल्लेख छ।
बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। पुँजी वृद्धिबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
साधारणसभाले प्रबन्धपत्र र नियमावलीमा संशोधनलगायत निर्णयको अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिए सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।



