क्रिकेटर कुशल र नायिका नीति नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर
काठमाडौं । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल भुर्तेल र मोडल तथा नायिका नीति शाह नियुक्त भएका छन्।
टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनीहरुलाई एम्बेसडर नियुक्त गरिएको जनाएको छ। टेलिकमका अनुसार गत साउन २० मा कुशललाई र आज नीतिलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो।
प्रबन्ध निर्देशक संगीता पहाडीले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्तालगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन्। उनले यी साझेदारीहरुले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवर्द्धन गर्न तथा सेवासुविधाहरूको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिन्।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको धारणा राखे। उनीहरूले आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवर्द्धन, बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
ब्रान्ड एम्बेसडरको रूपमा उनीहरुले स्वदेश तथा विदेशमा रहेका आम ग्राहकमा कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवा-सुविधाहरूको प्रचारप्रसार तथा कम्पनीको ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।



