धार्मिक तथा सांस्कृतिक पर्वमा विभेद नगर्न सरकारलाई अन्सारीको आग्रह
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीले पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती (ईद मिलादुन्नबी) का अवसरमा शुभकामना व्यक्त गर्दै जन्मजयन्तीमा सार्वजनिक बिदा कटौती गरी मुस्लिम समुदायका लागि मात्र सामुदायिक बिदा दिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष मोहम्मद रिजवान अन्सारीले जारी गरेको शुभकामना तथा प्रेस विज्ञप्तिमा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम शान्ति, करुणा, समानता, सामाजिक न्याय र मानवताको सन्देशवाहक भएको उल्लेख गर्दै उहाँको योगदान कुनै एक समुदाय वा धर्ममा मात्र सीमित नरहेको बताएका छन्।
अन्सारीले हजरत मोहम्मदको शिक्षाले जात, वर्ण, रंग, भाषा, वंश तथा आर्थिक अवस्थाका आधारमा हुने विभेदको विरोध गर्दै समानता र मानव मर्यादाको पक्षमा आवाज उठाएको उल्लेख गरेका छन्। कमजोर, गरिब, अनाथ, महिला, श्रमिक तथा सीमान्तकृत समुदायको अधिकार र सम्मानको संरक्षणमा उहाँको शिक्षाले विशेष जोड दिएको पनि विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले ईद मिलादुन्नबीमा सार्वजनिक बिदाको सट्टा मुस्लिम समुदायका लागि मात्र सामुदायिक बिदा दिने निर्णय गर्नु विभेदपूर्ण र आपत्तिजनक भएको पार्टीको ठहर छ। त्यस्तै, मधेश प्रदेश सरकारले विगतमा दिँदै आएको सार्वजनिक बिदा हटाएर सामुदायिक बिदामा सीमित गरेकोप्रति पनि पार्टीले असन्तुष्टि जनाएको छ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै धार्मिक तथा सांस्कृतिक समुदायप्रति राज्यले समान र सम्मानजनक व्यवहार गर्नुपर्ने अन्सारीको भनाइ छ। धार्मिक स्वतन्त्रता, समानता, सामाजिक न्याय र समावेशिताको संवैधानिक भावनाविपरीत कुनै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वलाई समुदायविशेषको विषयमा सीमित गर्नु उचित नहुने पार्टीले जनाएको छ।
नेपाल संघीय समाजवादी पार्टीले केन्द्र तथा मधेश प्रदेश सरकारलाई निर्णय तत्काल सच्याउँदै ईद मिलादुन्नबीमा पुनः सार्वजनिक बिदा कायम गर्न माग गरेको छ। साथै, सबै धर्म तथा समुदायका धार्मिक–सांस्कृतिक पर्वप्रति समान र विभेदरहित व्यवहार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
निर्णय नसच्याइए जनताको अधिकार, धार्मिक समानता र सामाजिक न्यायका विषयमा लोकतान्त्रिक तथा शान्तिपूर्ण रूपमा सशक्त आवाज उठाउन बाध्य हुने चेतावनीसमेत पार्टीले दिएको छ।
अन्त्यमा पार्टी अध्यक्ष अन्सारीले ईद मिलादुन्नबीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सद्भाव र सामाजिक एकताको शुभकामना व्यक्त गर्दै हजरत मोहम्मदको शान्ति, समानता, न्याय र मानवताको सन्देशलाई समाजमा फैलाउन आह्वान गरेका छन्।

