एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा ७ दिन थप्यो
काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार र राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।
कम्पनीका अनुसार शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा थप एक सातासम्म निःशुल्क डेटा, अलनेट भ्वाइस तथा १०० वटा निःशुल्क एसएमएस सेवा उपलब्ध हुनेछ।
यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अलनेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त तीनदिने अवधि शुक्रबार सकिँदैछ।
विपद्का बेला सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सेवाको महत्वपूर्ण भूमिका हुने भन्दै कम्पनीले निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले प्रभावित समुदायलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको बताए।
१८ वटा टावर पुनः सञ्चालन
एनसेलले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ। थप नौवटा प्रभावित टावर पुनः सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्न तथा आपतकालीन खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्याउन प्राविधिक टोली परिचालन गरिएको छ।
यसैबीच, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो।
एनसेलले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। कम्पनीले एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत आवश्यक सूचना तथा सुरक्षा सन्देशसमेत प्रवाह गर्दै आएको जनाएको छ।


